सन् २०१९मा तत्कालीन राष्ट्रपति ट्रम्पसँगै काँधमा काँध मिलाएर भारतीय-अमेरिकीको विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै खुला रुपमा चुनाव प्रचार गरेका थिए । तर अहिले ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सारको डन्डा चलाइदिएका छन् ।
‘अबकी बार, ट्रम्प सरकार ।’ अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा सन् २०१९ को सेप्टेम्बरमा भएको भारतीय–अमेरिकनहरूको एक विशाल सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको नारा हो यो ।
ह्युस्टनको एनआरजी स्टेडियममा उपस्थित ५० हजारभन्दा बढीको उपस्थितिमा भएको सो कार्यक्रम ‘पोप’बाहेक कोही पनि विदेशी नेता सहभागी भएको अमेरिकाको सबैभन्दा ठूलो कार्यक्रम थियो । अर्को वर्ष सन् २०२० मा राष्ट्रपतिका लागि नयाँ निर्वाचन हुँदै थियो । त्यसअघि तत्कालीन राष्ट्रपति ट्रम्पसँगै काँधमा काँध मिलाएर सभालाई सम्बोधन गर्दै मोदीले ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै खुला रुपमा उनलाई समर्थन गरेका थिए ।
सन् २०२० को चुनाव ट्रम्पले हारे तर मोदीले निरन्तर ट्रम्पलाई आफ्नो निकटको मित्रका रुपमा प्रस्तुत गर्ने गरेका थिए । तर, सन् २०२४ मा भएको निर्वाचनमा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भए, जसमा भारतीय मूलका अमेरिकीको योगदान पनि महत्वपूर्ण मानिन्छ ।
ट्रम्पले पहिलो कार्यकालमा चीनलगायत मुलुकसँग व्यापार युद्ध सुरु गरेका थिए । तर, भारतसँगको सम्बन्ध सौहार्द रह्यो । यसपटक भने संसारका अनेक देशलाई उच्च भन्सार लगाएर उनले व्यापार युद्धलाई चरमोत्कर्षमा पुर्याएका छन् । अझ आफ्ना निकट मित्र मानिएका मोदीको भारतमाथि त ५० प्रतिशत भन्सार पुर्याएर कठोर व्यापार युद्ध छेडेका छन् ।
ट्रम्पले जस्तालाई त्यस्तै भन्सार (रेसिप्रोकल ट्यारिफ) भनेर भारतलाई २५ प्रतिशत भन्सार पहिल्यै लगाएका छन्, जुन बिहीवारबाट कार्यान्वयनमा आयो । ट्रम्प त्यतिमै रोकिएका छैनन्, भारतले रुसबाट तेल किनेको भन्दै उनले थप २५ प्रतिशत भन्सार लगाइदिए, जुन २१ दिनपछि लागू हुनेछ । भारतकै लागि भनेर बुधवार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा सही २५ प्रतिशत भन्सार थपिदिएका हुन्, अब अमेरिकाले भारतमाथि यसअघि लगाउँदै आएको भन्सार ५० प्रतिशत पुग्नेछ । अर्थात् यसअघि लाग्दै आएको भन्सारमा ५० प्रतिशत थपिनेछ ।
‘भारत सरकारले रसियन फेडेरेसनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तेल आयात गरिरहेको मैले पाएँ,’ ट्रम्पले कार्यकारी आदेशमा लेखेका छन् । यो अमेरिकाले कुनै पनि व्यापारिक साझेदारलाई लगाएको सबैभन्दा उच्च भन्सारदर मध्येमा पर्छ ।
राष्ट्रपति ट्रम्प रुसलाई दबाब दिएर युक्रेनमाथिको आक्रमण रोक्न चाहन्छन् । त्यसका लागि उनले रुससँग व्यापारिक कारोबार गर्ने मुलुकहरूलाई दण्डित गर्ने बताउँदै आएका थिए । अमेरिका तथा अन्य पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाइरहँदा भारतले उसबाट पेट्रोलियम पदार्थ किनिरहेकोमा अमेरिका विगतदेखि नै खुसी थिएन । अहिले भारतलाई रुसबाट तेल किन्न बन्द गर्न पटकपटक अनुरोध गरे पनि भारतले त्यो नमानेपछि २५ प्रतिशत भन्सार थपेका हुन् ।
यसरी ट्रम्पले एकैपटक भारतमाथि ५० प्रतिशत भन्सार बढाएपछि घनिष्ठ मित्र मानिएका भारत र अमेरिकाबीच कूटनीतिक सम्बन्ध इतिहासकै सबैभन्दा तल्लो तहमा पुगेको कूटनीतिज्ञहरूले बताएका छन् ।
अमेरिकाले आफ्नो कृषि, डेरी तथा अटोमोबाइलसम्बन्धी उत्पादनमा भन्सार घटाउनुपर्ने माग राखेकोमा भारतले नमानेपछि आफूमाथि उच्च भन्सार लगाइएको भारतीयहरूको बुझाइ छ । अमेरिकाले ५० प्रतिशत भन्सार लगाएपछि पहिलोपटक बोल्दै भारतीय प्रधानमन्त्री मोदीले जतिसुकै ठूलो मूल्य तिर्नुपरे पनि आफूले देशका किसानको हितमाथि सम्झौता नगर्ने बताए ।
‘हाम्रा लागि हाम्रा किसानको कल्याण नै सबैभन्दा ठूलो हो,’ मोदीले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अमेरिका र ट्रम्पको नाम नलिईकनै भने, ‘भारतले आफ्ना किसानहरू, दुग्ध क्षेत्र र माछा मार्ने पेसा गर्नेहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई थाहा छ, यसको लागि ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
कसरी बिग्रियो ‘ट्रम्प–मोदी’ टर्म
कोल्डवार सकिएपछि विशेषगरी सन् २००० पछि विश्वका दुई ठूला प्रजातन्त्रान्त्रिक मुलुकहरू भारत र अमेरिकाबीच नजिकको सम्बन्ध रहँदै आएको थियो । पारमाणविक सम्झौता, सैन्य सम्झौता, बढ्दो दुईतर्फी व्यापार तथा लगानी, प्रविधि, शिक्षा तथा क्षेत्रीय सुरक्षामा दुई मुलुकले हातमा हात मिलाएर काम गरिरहेका थिए ।
अझै सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी र सन् २०१६ देखि अमेरिकी राष्ट्रपति रहेका ट्रम्पबीच त अत्यन्तै निकट सम्बन्ध रहेको अघिल्लो निर्वाचनअघि मोदी अमेरिका पुगेरै ट्रम्पको पक्षमा सार्वजनिक भाषण गरेबाटै स्पष्ट हुन्छ । तर पछिल्लो पटक भन्सार तथा रुससँगको रणनीतिक टकरावका कारण यी दुई मुलुकबीचको सम्बन्धको जग अहिले गम्भीर रुपमा दबाबमा रहेको अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने पूर्वउपसहायक विदेशमन्त्री तथा कार्नेजी इन्डोउमेन्ट फर इन्टरनेशनल पिसका उपाध्यक्ष इभान ए फेगेनबाउमले उल्लेख गरेका छन् । ‘धेरै मेहनत गरेर बनाइएको यो सम्बन्धलाई ट्रम्पले भत्काउने प्रक्रिया सुरु गरेका छन्,’ उनले लेखेका छन् ।

