झापासहित देशभर विशेष मतदाता शिक्षा अभियान सुरु हुने

chandragadi sambadh footage1

फाल्गुन १, झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा प्रभावकारी बनाउन निर्वाचन आयोगले झापासहित देशभर विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त अभियान झापाका सबै १३१ वडामा विस्तार गरिनेछ। भद्रपुरमा शुक्रबार आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी सञ्चारकर्मी अन्तरक्रियामा उहाँले यसबारे जानकारी दिनुभएको हो।

कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले घरदैलो तथा बस्तीस्तरमा पुगेर नमुना मतपत्र प्रयोग गर्दै मतदान गर्ने तरिका, मताधिकारको महत्व र निर्वाचनको उद्देश्यबारे प्रत्यक्ष जानकारी दिनेछन्। यसले मतदातालाई सचेत बनाउँदै बदर मतको संख्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अन्तरक्रियामा बोल्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिता कडाइका साथ लागू गरिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले निर्वाचन प्रक्रियाको पारदर्शिता, आचारसंहिताको पालना र मतदाता शिक्षाको अपरिहार्यताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।

जिल्ला निर्वाचन कार्यालयले विशेष मतदाता शिक्षा अभियानमार्फत निर्वाचनमा जनसहभागिता उल्लेख्य रूपमा बढ्ने र बदर मतको अनुपात न्यून हुँदै जाने विश्वास व्यक्त गरेको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *