टाइब्रेकरमा आर्मी सेमिफाइनल प्रवेश

DSC01976

बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा पोखराको लालिगुराँस एसोसिएसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो।
टाइब्रेकरमा आर्मीका नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे। पोखराका तर्फबाट टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सके। पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए।
खेलको पहिलो हाफमा पोखराले आर्मीमाथि दबाब कायम राखे पनि दोस्रो हाफमा आर्मीले सुधारिएको प्रदर्शन प्रस्तुत गरेको थियो। खेलको ७९ औँ मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले हानेको शक्तिशाली प्रहार पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाए।
इन्ज्युरी समयमा आर्मीले लगातार आक्रमण गरेको थियो। जिलेस्पीजंग कार्कीले डिबक्सभित्र अनमार्क अवस्थामा गरेको प्रहार महतोले रोके भने त्यसपछि जर्जप्रिन्स कार्कीको हेडर क्रसबारमा लागेर बाहिरिएको थियो।
पोखराले भने पहिलो हाफमा अग्रता लिने केही अवसर सिर्जना गरेको थियो। खेलको ३० औँ मिनेटमा मुकुन्दकुमार न्युरो गोलकिपरसँग वान–भर्सेस–वान अवस्थामा गोल गर्न असफल भए। त्यस्तै, ७४ औँ मिनेटमा टिकाराज गुरुङको प्रहारलाई आर्मीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली आर्मीका गोलकिपर विकेश कुथु घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
बुधबार हुने अर्को क्वार्टरफाइनल खेल सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुनेछ।
प्रतियोगिताअन्तर्गत टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टेलिभिजन प्राप्त गरे। महेन्द्ररत्न स्टोर्स, बिर्तामोडले प्रत्येक दिन एकजना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट काट्ने दर्शकमध्ये एकजनालाई यामाहा स्कुटर प्रदान गरिनेछ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन्। विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *