काठमाडौं– गोंगबुस्थित बसपार्कमा तन्नाभित्र पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। शनिबार बिहान सडिसकेको अवस्थामा फेला परेकी युवतीको पहिचान तत्काल खुल्न नसकेको भए पनि पछि उनी रुकुम घर भएकी करिब २० वर्षीया माया भन्ने आयुषा मगर भएको खुलेको छ।
अनुसन्धानको क्रममा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगरलाई हत्या आरोपमा पक्राउ गरेको छ। उनी बसपार्कस्थित एक होटलमा कुकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपित र पीडितबीच सामान्य चिनजान थियो र लागुऔषधसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

