जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आगामी चुनाव एकै चुनाव चिह्नबाट लड्ने सहमति भएको छ। आइतबार तीन पार्टीका नेतृत्वले रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न ‘जाँतो (चकिया)’ प्रयोग गर्ने निर्णय गरेका हुन्।
‘आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा हामी तीन पार्टी— जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल— एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं। एकल चिह्नका रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता भएको जाँतो (चकिया) प्रयोग गर्न सहमत भयौं,’ विज्ञप्तिमा भनिएको छ। उक्त विज्ञप्तिमा तीनै अध्यक्षहरूले संयुक्त हस्ताक्षर गरेका छन्।
तीन पार्टीले विचार मिल्ने अन्य दलहरूलाई पनि यही मोर्चामा सहभागी भई एकल चिह्न ‘जाँतो’बाट चुनाव लड्न आह्वान गरेका छन्।

