युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर ‘सेभेन समिट’ पूरा गरी नयाँ विश्व कीर्तिमान बनाउन एक कदम टाढा

Hari Budhamagar 1

लन्डन — १९ वर्षमै सुन्दर भविष्यको आशामा ब्रिटिश सेनामा भर्ती भएका रोल्पा–थवाङका हरि बुढामगर ३१ वर्षको उमेरमा अफगानिस्तानको युद्धमा ‘आईईडी’ विस्फोटका कारण घुँडामाथिबाट दुवै खुट्टा गुमाउँदा जीवन नै अन्धकारमा डुबेको महसुस गरेका थिए। शारीरिक र मानसिक पीडाबाट गुज्रँदै कहिलेकाहीँ आत्महत्या गर्ने सोचसमेत बने पनि परिवार र सन्तानप्रतिको मायाले उनले आफूलाई पुनः उठाए।

जीवनलाई नयाँ दिशातर्फ मोड्न उनले स्कीइङ, गल्फिङ, साइक्लिङजस्ता साहसिक खेलमा आफूलाई केन्द्रित गरे। अपाङ्गता भएर पनि स्की खेल्ने पहिलो नेपाली बनेपछि उनको आत्मविश्वास झनै बढ्यो। पछि पर्वतारोहणसम्बन्धी तालिम लिएर प्रशिक्षकसमेत बने।

स्कुल पढ्दै गर्दा सगरमाथा चढ्ने साहसिक कथाले प्रेरित बुढामगरले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गरे। सोधिनेहरूलाई उनी भन्छन्— “खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ।”

हाल उनी विश्वका सात महादेशका अग्ला शिखर चढ्ने ‘सेभेन समिट’ अभियानको अन्तिम लक्ष्यतर्फ अघि बढिरहेका छन्। अन्तिम बाँकी रहेको अन्टार्कटिकाको सर्वोच्च शिखर ‘माउन्ट भिन्सन’ (४,८९२ मि.) उनी डिसेम्बर अन्त्य वा जनवरी पहिलो साताभित्र चढ्ने तयारीमा छन्। सफल भएमा उनी ‘डबल–एबभ–नी एम्प्यूटी’ (घुँडामाथिबाट दुवै खुट्टा नभएका) व्यक्तिमध्ये विश्वमै पहिलो भएर ‘सेभेन समिट’ पूरा गर्ने इतिहास रच्नेछन्।

अपाङ्गताबारे जागरूकता फैलाउन र आफ्नोजस्तै सपना बोकेकालाई प्रेरित गर्न उनले यो अभियान थालेका हुन्। “म विश्व पर्वतारोहण इतिहासमा नेपाल र नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन चाहन्छु,” उनी भन्छन्, “माउन्ट भिन्सन चुनौतीपूर्ण मात्र होइन, खर्चिलो पनि छ, त्यसैले एक पाउण्ड अभियानमा सबैले साथ दिनुपर्छ।” उनका अनुसार करिब एक लाख पाउण्डको लक्ष्यसहितको क्राउडफन्डिङ अभियानमा हालसम्म झण्डै २० हजार पाउण्ड संकलन भइसकेको छ।

बुढामगरले यसअघि मोन्ट ब्ल्यांक (युरोप), किलिमन्जारो (अफ्रिका), सगरमाथा (एसिया), डेनाली (उत्तर अमेरिका), एकोनकागुवा (दक्षिण अमेरिका) र कार्सटेन्ज पिरामिड (ओसिनिया) सफलतापूर्वक आरोहण गरिसकेका छन्। विशेषगरी डेनाली र कार्सटेन्जमा दुवै खुट्टा घुँडामाथिबाट गुमेका व्यक्तिमा पहिलो बनेर उनले इतिहास रचेका छन्।

हाल बुढामगर आफ्नो परिवारसँग बेलायतको क्यान्टबरीमा बस्दै आएका छन्। गत वर्ष मात्र उनले बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए।

के यो उपयोगी थियो?

थियो
थिएन
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद!

सेयर गर्नुहोस्!

Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *