मङ्सिर १४, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज राजधानी काठमाडौँमा आयोजित विशेष सभामार्फत औपचारिक रूपमा एकता घोषणा गरिएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’लाई मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै दुवै दलका शीर्ष नेताले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ र झण्डाका सबै विद्यमान प्रतीक यथावत राख्ने निर्णय गरिएको छ। सहमतिपत्रले विवेकशील साझाले रास्वपाको राजनीतिक सिद्धान्त, मार्गदर्शन र नेतृत्वलाई निःशर्त स्वीकार गरेको पुष्टि गरेको छ।
दुवै पक्षले समावेशी लोकतन्त्र, उदार अर्थतन्त्र, सामाजिक न्याय र समतामूलक प्रगतिमा आधारित सुशासनलाई एकताको आधार मानिएको उल्लेख गरेका छन्। सहमतिपत्रमा रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले, र विवेकशील साझातर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा तथा उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।
संगठनात्मक संरचना मिलानका लागि आगामी राष्ट्रिय महाधिवेशनसम्म ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र बनाइने आजको एकता सभाले जनाएको छ। प्रदेश र स्थानीय तहमा पनि योग्यता, समावेशिता तथा सार्वजनिक छविका आधारमा जिम्मेवारी पुन: संयोजन गरिने सहमति गरिएको छ। दुवै दलले आगामी फाल्गुन २१ लक्षित प्रतिनिधि सभानिर्वाचनका लागि आयोगमा आवश्यक कानुनी प्रक्रिया तत्काल पूरा गर्ने बताएका छन।
एकीकृत दलले वैकल्पिक राजनीतिलाई मजबुत बनाउँदै सुशासन र समृद्धिको साझागत लक्ष्यमा सबै परिवर्तनकामी शक्ति तथा व्यक्तित्वलाई ‘घण्टी’ प्रतीक अन्तर्गत संगठित हुन आग्रह गरेको छ।
आजको एकता घोषणाले वैकल्पिक राजनीतिक धारको एकीकृत स्वरूप प्रस्तुत गरेको भन्दै सहभागी नेताहरूले यो प्रक्रिया देशमा स्वस्थ राजनैतिक संस्कृतिको प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम भएको टिप्पणी गरेका छन्।

