मङ्सिर २५, झापा । नेपाल सरकारले हालसालै आफ्नो पीक प्रोफाइल अध्यावधिक गर्दै ८,००० मिटरभन्दा माथिका १४ वटा हिमाल आधिकारिक रूपमा सूचीकृत गरेको छ। साबिकका आठवटा ८००० मि भन्दा अग्ला हिमालसङ्गै थपिएका ६ नयाँ ८००० मि बढी उचाईका शिखरहरुले अब आधिकारिक तथ्यांक १४ कायम भएको छ। यसले नेपालको पर्वतीय तथ्यांकलाई विश्व मानचित्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नयाँ थपिएका शिखरहरू मध्ये कञ्चनजङ्गा हिमशृङ्खलाबाट यालुङ खाङ (८,५०५ मि.), यालुङ खाङ पश्चिम (८,०७७ मि.), कञ्चनजङ्गा सेन्ट्रल (८,४७३ मि.) र कञ्चनजङ्गा दक्षिण (८,४७६ मि.) गरि चार शिखर र ल्होत्से शृङ्खलाबाट दुइओटा , ल्होत्से मिडल (८,४१० मि.) र ल्होत्से शार (८,४०० मि.) गरी जम्मा ६ शिखर नयाँ सूचीमा थपिएका हुन।
पर्यटन विभागले यी शिखरहरूलाई देशको आधिकारिक तथ्यांकमा समावेश गरे पनि यीमध्ये धेरैलाई अन्तर्राष्ट्रिय जगतले हालसम्म “सहायक चुचुरो” को रूपमा व्याख्या गर्ने गरेको विशेषज्ञहरूको भनाइ छ। तथ्यांकमा आएको यो परिवर्तनलाई विश्वव्यापी मान्यता दिलाउन नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (UIAA) को आधिकारिक सूचीमा दर्ता गराउन प्रक्रिया सुरु गरेको छ। UIAA नै विश्वभर मान्यता प्राप्त पर्वत वर्गीकरण निर्धारण गर्ने निकाय भएकाले यसको स्वीकृति अपरिहार्य मानिन्छ।
पर्यटन विभागका अधिकारीहरूका अनुसार पर्वत तथ्यांक अद्यावधिक गर्दाका मुख्य आधारहरु उच्च–रिजोलुसन भू–उचाइ नक्सा, डिजिटल सर्वे र प्राविधिक डेटा विश्लेषणमा रहेको छ।
UIAA ले नेपालद्वारा पेश गरिने परिवर्तित तथ्यांकलाई स्वीकृत गरेको खण्डमा विस्वको पर्वतिय मानचित्रमा नेपालका ८००० मि बढी उचाइ भएका शिखरहरु ८ बाट बढेर १४ पुग्नेछ्न।
यसले पर्वतारोहण पर्यटन बजारमा नेपालको प्रतिष्ठा, सम्भावना र आर्थिक योगदान दुवै बढ्ने अपेक्षा गरिएको छ।
नेपालका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्णा गरी ८ वटा शिखर विश्वव्यापी रूपमा मान्य ८००० बढी उचाइ भएको तथ्य यसअघि नै स्थापित छ।
नयाँ पहिचानले यी शिखरहरूका शृङ्खलामा अवस्थित धेरै उप–शिखरहरूलाई प्राविधिक रूपमा नै विश्वसामु “मुख्य वर्गमा” ल्याउने अपेक्षा गरिएको छ।

