म्याग्दी — प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवाभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढी देखिन थालेको छ, विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरी तथा युवतीमा। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अस्पतालमा १७७ सुत्केरी हुँदा १९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनि गर्भपतन गराउने ८ जना र सुत्केरी हुने ३१ जना थिए।
आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म सुत्केरी तथा गर्भपतन सेवा लिएका ३७६ जनामध्ये ३९ जना २० वर्षमुनिका थिए। यसअघि २०८१/८२ मा १,३८४ मध्ये १९० जना र २०८०/८१ मा १,४६५ मध्ये १६५ जना २० वर्षभित्रका रहेकाले किशोरीमा गर्भधारण र गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दो अवस्थामा रहेको देखिन्छ।
सूचना अधिकारी सुवेदीका अनुसार जिल्लामा ४७ प्रतिशत दम्पत्तीले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन्, जबकि ५३ प्रतिशत अझै पहुँच बाहिर छन्। यसले अनिच्छित गर्भधारण बढ्न मद्दत गरेको विश्लेषण छ।
अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधान भन्छन्— सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार सकारात्मक भए पनि बारम्बार गर्भपतन गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण छ। २० वर्षभन्दा कम उमेरमा गर्भधारण हुनु शारीरिक तथा मानसिक रूपमा अपरिपक्व अवस्थामा आमा बन्नु हो, जसले जटिलता बढाउँछ। उनका अनुसार बालविवाह र यौन/प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीको कमी यसको प्रमुख कारण हो।
म्याग्दी बहुमुखी क्याम्पसकी उपप्रध्यापक रेखाकौशल रेग्मीका अनुसार समाजमा विवाहको शैली फेरिए पनि बालविवाह घटेको छैन। “मेलाजात्रा अनिच्छित गर्भधारण र बालविवाहको प्रमुख कारणमध्ये एक हो,” उनले बताइन्।
देशव्यापी रूपमा पनि ५३ प्रतिशत गर्भधारण अनिच्छित हुने तथ्यांकले समस्या गम्भीर रहेको संकेत गर्छ। २० वर्षमुनि विवाह दर्ता नहुने कानुनी व्यवस्था र त्यसपछि जन्मदर्ता तथा सरकारी सेवा–सुविधामा पहुँच नपाइने समस्या थपिँदै जानु पनि सामाजिक चुनौती बनेको छ।
विशेषज्ञहरूका अनुसार परिवार नियोजन सेवा विस्तार, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, बालविवाह नियन्त्रण तथा समुदायस्तरमा सचेतना अभिवृद्धि नगरेसम्म समस्या झन् गहिरिँदै जानेछ।

