मङ्सिर २९, काठमाडौं । नेपालमा हरेक चार–चार वर्षमा गरिँदै आएको राष्ट्रिय बाघ गणनाको पाँचौं संस्करण वि.स. २०८२ पौष १ गतेबाट सुरु हुने भएको छ। यसअघि चौथो राष्ट्रिय बाघ गणना २०७८ मंसिर १९ गतेबाट सुरु भई २०७९ फागुन २८ गते सम्पन्न भएको थियो जसको नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २०७९ साउन १३ गते सार्वजनिक गरिएको थियो।
चौथो गणनाको नतिजा अनुसार नेपालमा पाटे बाघको संख्या ३ सय ५५ पुगेको हो। उक्त नतिजासङ्गै नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूसँगको सहकार्यमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउन गरेको संकल्प सफलतापूर्वक पूरा गरेको थियो।
यस अघि चितवनमा १२८ , बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ ,पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा पाइएको हो।
चौथो बाघ गणना चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी–जोगबुढा गरी तीनवटा कम्प्लेक्समा विभाजन गरेर गरिएको थियो। गणनाका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकल–२०१७’ अनुसार क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधि अपनाएको थियो।
नेपालमा बाघ संरक्षणको इतिहास हेर्दा सन् २०१० मा बाघको संख्या १२१ मात्र थियो। त्यसपछि सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र चौथो गणनामा ३५५ पुग्नु संरक्षण प्रयासको उल्लेखनीय उपलब्धि मानिएको छ। सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएका थिए।नेपालसहित भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन्।
संरक्षणका यी साझा प्रयासलाई निरन्तरता दिँदै अब पौष १ गतेबाट सुरु हुने पाँचौं राष्ट्रिय बाघ गणनाले नेपालमा बाघको अवस्था, वितरण र संरक्षण चुनौतीबारे थप स्पष्ट तथ्यांक उपलब्ध गराउने अपेक्षा गरिएको छ।

