मङ्सिर १५, मेचिनगर । नेपाल-भारत सीमा नाका काँकडभिट्टाको मुटुमा रहेको देवकोटा पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले थप आकर्षक बन्दै गएको छ। वि.सं. २०५० मा दार्जिलिङका वरिष्ठ साहित्यकार शिवकुमार राईद्वारा शिलान्यास गरी औपचारिकरूपमा सञ्चालनमा आएको पार्कले विगतमा जग्गा स्वामित्व र व्यवस्थापनका विषयमा धेरै उतार–चढाव भोगेको थियो।

हाल सबै सरोकार पक्षको सहकार्य र स्थानीय युवाको सक्रियताले पार्क पुनर्जीवित जस्तै बनेको छ। करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको पार्कको सञ्चालन अध्यक्ष बालकृष्ण थापाको नेतृत्वमा नौ सदस्यीय समितिले गर्दै आएको छ।
पार्कका सहसचिव फणिन्द्र घिमिरेका अनुसार खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि प्रवेश शुल्क रु २० तोकिएको छ भने विद्यालय तथा संस्थागत भ्रमणका लागि समूहगत अवलोकन शुल्क रु ३०० लागू गरिएको छ।

“जग्गा स्वामित्वको विषय अझै टुंगो लाग्न बाँकी छ। नगरपालिकासँगको सहकार्यमा विशेष कार्यविधि बनाएर पार्क सञ्चालनमा छ,” समिति अध्यक्ष थापाले बताए। कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका, नेपाल पर्यटन बोर्ड, मेचीनगर–६ वडा कार्यालय र स्थानीय दाताहरुको सहयोगमा पूर्वाधार निर्माण गरि पार्कलाई वर्तमान स्थितीमा व्यवस्थित बनाइएको छ।

स्थानिय युवाहरुको सक्रियतामा एक समय झाडी र लागूऔषध दुरुपयोगकर्ताको आश्रय बनेको क्षेत्र अहिले सुन्दर बगैचामा परिणत भएको छ। पार्कमा हाल बालबालिकालाई लक्षित गरी ढिकिच्याउ, मोनोरेल, चिप्लेटि, पिङलगायत खेल सामग्रीको प्रबन्ध समेत गरिएको छ।

पार्कको केन्द्रमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकले क्षेत्रलाई साहित्यमय बनाएको छ। विगतमा तोडफोड गरिएको शालिक स्थानीय पहलमा पुनःस्थापना गरिएको अध्यक्ष थापाले बताए। पार्कले हरेक वर्ष महाकवी देवकोटाको जन्मजयन्ती भव्य रुपमा मनाउदै आएको छ।

पार्कलाई व्यवस्थित चिल्ड्रेन पार्कका रूपमा विस्तार गर्ने तथा आकर्षक सभा हल निर्माण गरि पुर्वकै सुन्दर पार्कमा परिवर्तन गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए।

पार्क सञ्चालनका लागि एक कर्मचारी राखिएको छ र पानी र बिजुलीको बिल तथा तलब भुक्तानी आगन्तुकबाट उठ्ने टिकट शुल्कबाट नै व्यवस्थापन भइरहेको समितिले जनाएको छ।
स्वच्छ वातावरण, फराकिलो पदमार्ग र विविध खेल सामग्रीसहितको देवकोटा पार्कले हाल दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै आएको छ।


